दफा १९
सञ्चालकको पदमा बहाल रहन नसक्ने अवस्था
(१) देहायका अवस्थामा कुनै पनि व्यक्ति बैंक वा वित्तीय संस्थाको सञ्चालकको पदमा बहाल रहने छैनः–
(क) दफा १६ वा १७ बमोजिमको योग्यता नभएमा वा दफा १८ बमोजिम अयोग्य भएमा,
(ख)जुन समूहबाट सञ्चालक नियुक्ति भएको हो सोही समूहको कम्तीमा एकाउन्न प्रतिशत शेयरको प्रतिनिधित्व हुने शेयरधनीले सञ्चालकको पदबाट हटाउन साधारण सभामा पेश गरेको प्रस्ताव बहुमतले पारित गरेमा,
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “समूह” भन्नाले संस्थापक र सर्वसाधारण शेयरधनीको समूह सम्झनु पर्छ ।
(ग) सञ्चालकले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा,
(घ) यस ऐन वा राष्ट्र बैंकको निर्देशन बमोजिम सञ्चालकले गर्न नहुने कुनै कार्य गरेमा,
(ङ) बैंक वा वित्तीय संस्था वा निक्षेपकर्ताको हकहित विपरीत कार्य गरेको कारण निज बैंक वा वित्तीय संस्थाको सञ्चालक पदमा रही कार्य सम्पादन गर्न अयोग्य रहेको भनी राष्ट्र बैंकले निजलाई हटाउन निर्देशन दिएमा ।
(२) बैंक वा वित्तीय संस्थालाई आफ्नो कुनै सञ्चालक यस ऐन वा राष्ट्र बैंक ऐन बमोजिम सो पदमा बहाल रहन अयोग्य छ भन्ने लागेमा वा सञ्चालक पदमा बहाल नरहेमा त्यसको पन्ध्र दिनभित्र राष्ट्र बैंकलाई लिखित रुपमा जानकारी दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम पदमा बहाल रहन अयोग्य छ भनी लेखी आएको सञ्चालकको सम्बन्धमा राष्ट्र बैंकले आवश्यक जाँचबुझ गरी उपयुक्त निर्देशन दिन सक्नेछ ।